

चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले ‘प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको सहज बहिर्गमनकै लागि’ मन्त्रालयमा पत्राचार गरेको जिकीर गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौतमबाट ‘माडीको समग्र विकास निर्माण र जनताका कामहरुमा अवरोध भएको, सांगठनिक अराजकता प्रस्तुत भएको, कर्मचारीहरुलाई अपमान र अन्याय भएको, सेवाग्राहीहरुलाई दुःख र अपमान गरिएको तथा ठेक्कापट्टा, निर्माण र खरिदमा अस्वभाविक गतिविधी भएको’ नगरप्रमुख ढकालको आरोप छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ढकालले नगर प्रमुखको रुपमा समग्र माडी र माडीको बिकास निर्माण तथा जनपक्षीय कार्यसम्पादनलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमको ‘(मेयर ढकालकै शव्दमा) गलत नियत र प्रवृत्ति बिरुद्ध लड्दै’ सहज बहिर्गमनको लागि पत्राचार गरेको जिकीर गर्नुभएको हो । सो बिषय ‘नगरपालिकाका सामान्य सेवाग्राही, सबै कर्मचारी र जनप्रतिनिधिले अनुभुति गरेको’ नगरप्रमुख ढकालको टिप्पणी छ ।

हाल आफू नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा सहभागी हुने सिलसिलामा काठमाडौंमा रहको जानकारी दिँदै उहाँले माडी फर्कएपछि प्रमुख प्रशासकीय अधिकृत गौतमबाट भएका ‘(मेयर ढकालकै शव्दमा) माडी बिरोधी र गैरकानुनी गतिविधीहरु’ प्रमाण सहित सार्वजनिक गर्ने समेत लेख्नुभएको छ ।