

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले सम्पत्ती कर वडामै तिर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो सम्पन्न पहिलो कार्यपालिका बैठकले आउँदो श्रावण १ गतेदेखि घरजग्गाको तिरो वा मालपोत जन्य एकीकृत सम्पत्ती कर वडाबासीहरुले आ-आफ्नै वडाहरुबाट तिर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले पहिलो कार्यकाल सफलतापूर्वक पुरा गरेका निवर्तमान जनप्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गर्ने, नगरपालिकाको अर्को सुबिधा सम्पन्न भवन निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने र वडाहरुले आफ्नो वडाको योजना बैंक बनाउन योजनाहरु संकलन गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी नगरपालिकाको पञ्चबर्षीय योजना तथा सम्भावना बोकेका क्षेत्रहरुको समष्ठिगत विकासका लागि डि.पि.आर. निर्माण गर्ने तथा विभिन्न गैरसरकारी संस्थाहरुसंगको समन्वयमा नगरपालिकाको नगरस्तरीय बिपद् प्रोफाइल बनाउन समन्वय गर्ने पनि निर्णय भएको नगर कार्यपालिका प्रवक्ता दण्डपाणी पौडेलले जानकारी दिनुभयो ।