

१२ श्रावण, चितवन । माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ ।

ईलाका प्रहरी कार्यालय माडीका अनुसार हालै सकिएको आ.व. २०७८/७९ मा झुण्डिएर १५ र पानीमा डुबेर ५ गरी २० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा ९ बर्षका १ बालक तथा ७० बर्ष माथिका २ बृद्धा समेत रहेका छन् ।

त्यसअघि, आर्थिक वर्ष २०७७/७८ मा झुण्डिएर १५ र पानीमा हाम फालेर ३ जना गरी १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जसमध्ये १३ बर्षकी बालिका सहित महिला ५ र पुरुष १३ जना रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा १ बालक सहित पुरुष ११ र महिला ५ गरी १६ जनाले आत्महत्या गरेका छन् । सो आ.व.मा झुण्डिएर ११ जनाले र पानीमा हाम फालेर ५ जनाले आत्महत्या गरेको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय माडीका प्रमुख सन्तोष खड्काका अनुसार लैङ्गिक तथा घरेलु हिंसा, पारिवारिक बेमेल, झैझगडा र खिचातानी, शारीरिक तथा मानसिक तनाव, दीर्घ रोग, प्रेममा धोका, नतिजामुखि परिणाम वा सफलता नहुँदा आत्महत्याको घटना हुनेगरेको देखिन्छ ।