

चितवन । माडी नगर तेक्वान्दो एसोसिएशनको आयोजनामा आउँदो पौष दोश्रो सातादेखि माडीमा अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

नेपालसंगै भारत र भुटान सहित अन्य केहि एसियाली देशका तेक्वान्दो खेलाडीहरुको सहभागिता रहनेगरी माडी खुला अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो च्याम्पियनशीप आयोजना भएको हो ।

पौष ८ देखि १० गतेसम्म माडी कभर्ड हल बघौंडामा सञ्चालन हुने सो प्रतियोगितामा तेक्वान्दोको किरोगी (फाइटिङ), पुम्से र डेमोन्स्ट्रेशन सहित साँस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने एसोसिएशनका अध्यक्ष सन्तोष मर्दनीयाले बताउनुभयो ।

यसअघि मंसिर २२ देखि २४ गतेसम्म सञ्चालनको पूर्वतयारी रहेकोमा शंसोधित मितिमा सञ्चालन हुन लागेको सो प्रतियोगिता सम्पन्न गर्न करीब १५ लाख रुपैंया खर्च लाग्ने आयोजकले जनाएको हो ।