

चितवन । नारायणगढमा चितवन महोत्सव र पूर्वी चितवनमा खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने भएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको बघौंडा चौरमा पौष ३० र माघ १ गते दुई दिवशीय खिचरा मेलासंगै थारु नयाँ बर्ष (थारु सम्बत् २६४६) मनाउन लागिएको हो । मेलामा प्रवेश निःशुल्क रहने छ ।

मुख्यतः थारु संस्कृति र थारु जातिको परम्परागत सामग्री प्रदर्शन एवं थारु परिकारहरुको विशिष्टता रहने माडी खिचरा मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति एवं छिमेकी राष्ट्र भारतको कल्चर नाँच समेत रहने आयोजकले जनाएको छ ।

माडीका विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन गरौं भन्ने ब्यानर सहित माडीका धार्मिक तथा ऐतिहासिक स्थलहरुको स्तम्भ समेत मेलामा राखिने आयोज थारु कल्याणकारिणी सभा, माडीका अध्यक्ष भीमप्रसाद महतोले बताउनुभयो ।