

चितवन । पतरे र घाँघर लगायतका खोलामा पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै काम सुचारु गरेका छैनन् ।
गत पौष २१ गते माडी नगरपालिकामा सम्पन्न सर्बपक्षीय बैठकमा पौष २५ गतेभित्रै निर्माण कार्य सुचारु गरिसक्ने प्रतिवद्धता व्यक्त गरेपनि निर्माण पक्षले हालसम्म काम सुचारु नगरेको हो । पटक पटक म्याद थप भएका पुलहरुको निर्माण समयसीमा यही पौषदेखि आगामी असारमा सकिँदैछ ।

यसैबिच, हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधेको म्याद पनि सकिएको छ । निर्देशनालयले पौष २३ गते तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोधेको थियो ।

निर्देशनालयले माडी-ठोरी सडकखण्डमा घाँघर खोला पुल बनाइरहेको सपना-लोहनी जेभी र पतरे खोला पुलको जिम्मा पाएको लोहनी एण्ड ब्रदर्ससँग स्पष्टीकरण माग गरेको हो । सूचना जारी भएको तीन दिनभित्र निर्माणस्थलमा काम सुरु नगरेमा ठेक्का तोड्न प्रक्रिया समेत थालिने निर्देशनालयले जनाएको थियो । (फोटोः निर्माण अधुरो पतरे खोला पुल)