

देव नारायण शाह

१८ असार, चितवन । माडी-६, मिलनचोकदेखि कल्याणपुर बजार बाँदरमुढे पुलतर्फ ८५० मिटर बाटो कालोपत्रे गर्न माडी नगरपालिकाको रहोबरमा निर्माण व्यवसायी र स्थानीय उपभोक्ताहरुबिच त्रिपक्षीय सम्झौता भएको छ ।

आउँदो असार २२ गतेभित्र कालोपत्रे कार्य पुरा गरिसक्ने गरी स्थानीयबासी र निर्माण व्यवसायी पक्षबिच नगरपालिकाको रहोबरमा सम्झौता भएको माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलले बताउनुभयो ।

सम्झौता अनुसार लोहनी कन्स्ट्रक्सनले ठेक्का पाएको सो सडक खण्ड अब पाठक कन्स्ट्रक्सनले निर्माण सहजिकरण गर्ने वडाध्यक्ष पौडेलले जनाउनुभयो ।
माडीकै स्थानीय निर्माण कम्पनी रहेको पाठक कन्स्ट्रक्सनले निर्माण कार्यको सहजिकरण सुचारु गरिसकेको सो कम्पनीले जनाएको छ ।
यसअघि, कालोपत्रे हुने क्रममा रहेको सो सडक खण्ड ५ वर्ष बितिसक्दा पनि कालोपत्रे पुरा नभएको र धुलाम्य रहँदा जनतामा प्रत्यक्ष असर परेको भन्दै स्थानीयबासीहरुले बिरोध र धर्ना गरेका थिए ।
त्यसपश्चात माडी नगरपालिकाले पत्राचार गरे अनुसार जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत निर्माण व्यवसायी झिकाई निर्माण कार्य सुचारु गराउने वातावरण तयार गरेको हो ।