

माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ ।

बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे हात्तीको आक्रमणमा परी सर्लाही हरिपुर नगरपालिका-६ निवासी ३४ वर्षिय माउते जग्दु सिंहको मृत्यु भएको हो ।

सिमलको रुखमा लुकेर बसेको गोबिन्दे हात्तीले खोरसोर नजिकको पुल क्रस हुने स्थानमा आक्रमण गर्दा पछुवा पदमा कार्यरत माउते सिंहको मृत्यु भएको र अर्का एकजना भगेर बाँच्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जाले बताउनुभयो ।

पोथी हात्तीको खोजीमा गोबिन्दे, ध्रुबे, रोनाल्डो लगायतका जंगली हात्तीहरु सौराहाको खोरसोरमा आउनेजाने गरिरहन्छन् । मुख्यतः प्रजननको समयमा जंगली मत्ता हात्तीहरू ज्यादा आक्रमक र हिंस्रक हुने र अन्य समयमा तुलनात्मक शान्त रहने संरक्षणकर्मीहरू बताउँछन् ।