

माडी, चितवन । माडी नगरपालिकाको ४१औं कार्यपालिका बैठकले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि संघ र प्रदेश समपुरक योजना र विशेष अनुदानका लागि मुख्यतः सडक कालोपत्रे र भवन निर्माणका योजनाहरु छनौट गरेको छ ।

बैठकले संघीय समपुरक योजनाका रुपमा वडा नं. ८ स्थित एनसेल टावरबाट शिवद्वार हुँदै वडा नं. ७ सम्म कालोपत्रे सडक निर्माण गर्ने महत्वकांक्षी योजना प्रस्ताव गरेको हो । त्यस्तै, संघीय विशेष अनुदानमातर्फ बघौंडा अस्पतालको भवन निर्माण र सोमेश्वर मा.वि.को लागि भवन निर्माण योजना छनौटमा परेका छन् ।

यसैगरी, बैठकले बागमती प्रदेश सरकारलाई समपुरक योजनास्वरुप वडा नं. ४ सिधुवा चोकदेखि वडा कार्यालय हुँदै वडा नं. ५ जाने बाटो, सिधुवा चोककै क्लब भवनदेखि वडा नं. २ जोड्ने बाटो र वडा नं. ९ गणेशकुञ्ज चोकदेखि श्रीगणेश आधारभूत विद्यालयबाट सागबारी हुँदै वडा नं. ८ बैकुण्ठधाम पुग्ने सडक कालोपत्रेको योजना प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यसबाहेक प्रदेश विशेष योजनाका रुपमा माडी ५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयको अधुरो भवन निर्माण पुरा गर्ने योजनालाई छनौट गरिएको माडी नगरपालिकाका कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।