

माडी, चितवन । विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान गरिएको छ ।

“एक विद्यालय एक ट्राफिक शिक्षक” कार्यक्रम अन्तरगत प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे जानकारी सञ्चार गर्ने उद्देश्यले सोमबार माडीका सबै विद्यालयहरुबाट एक एकजना शिक्षकलाई ट्राफिक शिक्षक तालिम दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको हो ।

शिक्षकहरुलाई सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि तालिम दिइएको चितवन ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बताउनुभयो । यसअघि जिल्लाका अन्य पालिकाहरुमा यसप्रकारको तालिम सञ्चालन भइसकेको उहाँले जनाउनुभयो ।

सवारी नियमबारे प्रशिक्षण पाएका प्रतिनिधि शिक्षकले विद्यालयमा प्रशिक्षण दिएर दुर्घटना कम गर्ने विश्वास चितवन प्रहरीको छ । कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रहरी उपरीक्षक नरेशराज सुवेदीको विशेष उपस्थिति रहेको थियो ।