चितवन खबर पोष्ट

माडीको बसन्तपुरमा सञ्चालन हुनलागेको दोश्रो साँस्कृतिक मेलाको तयारी सुरु, मेलास्थल सम्याइँदै

माडी, चितवन । आउँदो फागुन २२ गतेदेखि माडीको बसन्तपुरमा सञ्चालन हुने दोश्रो साँस्कृतिक तथा पर्यटन मेलाको तयारी सुरु भएको छ । मेलास्थलमा घेराबार लगाउनुका साथै चौरको क्षेत्रफल बढाउन ग्राभेल सम्याउने काम सोमबारदेखि सुरु भएको हो ।

होली पर्वको सन्दर्भ पारी चैत्र २ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको मेलाको समुद्घाटन भव्य शोभायात्रा र झाँकी प्रदर्शनी सहित फागुन २२ गते गरिने मेला आयोजक संस्था माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले बताउनुभयो ।

मेलामा नेपालका चर्चित गायन कलाकारहरु प्रकाश सपुत, प्रकाश दुतराज, खेम सेन्चुरी, श्याम राना, राजु परियार, पशुपति शर्मा, जीवन शर्मा (रक्तिम परिवार), सन्दीप क्षेत्री (हाँस्य कलाकार), समिर घिसिङ (भिटेन), दुर्गेश थापा, ज्याति मगर, विकास पाण्डे, अनु चौधरी र चर्चित नृत्यांगना प्रिती पासवानको प्रस्तुति रहनेछ ।

मेलामा माडीको पर्यटन एवं संस्कृति झल्कने विभिन्न सामग्रीहरुको प्रस्तुती, थारु र बोटे भिलेज एवं परिकार प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता सञ्चालन गरिनेछ । यसबाहेक मेलाकै अवसरमा माडीको पर्यटन प्रवद्र्धनका विभिन्न कार्यकलापका साथै फुड फेस्टिभल समेत सञ्चालनको तयारी गरिएको जनाइएको छ ।

यसबाहेक स्थानीय व्यवसाय, उत्पादन र सेवाहरुको प्रवद्र्धन, बाल उद्यान, बैंक, ईन्स्योरेन्स, वित्तीय संस्थाहरु, अटो मोबाईल्स, आई.टि., इलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, चप्पल, कस्मेटिक, लत्ता कपडाहरु, होटल तथा रेष्टुरेन्ट, आईसक्रिम, शैक्षिक, पर्यटन, हस्तकला लगायतको स्टल र स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार