

माडी, चैत ९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यको ‘नोकरशाही तन्त्र, नियम ऐन कानुनका जटिलता र झमेलाका कारण माडीका सन्दर्भमा भनेजस्तो काम गर्न नसकेको’ बताउनुभएको छ ।

पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रीत जनतासंग माओवादी तराई मधेश जागरण अभियानका क्रममा माडीको बरुवा बजारमा आयोजित जागरण-सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा हाल संसदका प्रतिपक्षी दलका नेतासमेत रहनुभएका प्रचण्डले सो स्वीकारोक्ति गर्नुभएको हो ।

माडीका सन्दर्भमा ‘निकुञ्जभित्र बाटो पक्की बनाउन निकै बल गरेपनि काम पुरा गर्न नसकेको’ बताउँदै उहाँले ‘यहाँको बाटोघाटो निर्माण, रीउ लगायतका ठाडा खोलाबाट माडीको सुरक्षा, जंगली जनावरबाट जनताको सुरक्षा लगायतका काम गर्नुपर्ने बिषयमा आफू जानकार रहेको’ बताउनुभयो ।

माडीमा ‘सुकुम्बासी समस्या समाधान, लालपुर्जा वितरण लगायत बाँकी रहेका कामहरु पुरा गर्न आफू अन्तिम समयसम्म लागिपर्ने र पहल गर्ने’ बताउँदै उहाँले ‘आउने दिनमा सबै अधुरा कामहरु पुरा गर्न पार्टीका तर्फबाट विशेष पहल गरिने’ प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।