

माडी, चितवन । समृद्धिका लागि युवा अभियानले आसन्न मध्यवर्ती उपभोक्ता समितिहरुको चुनाव बहिष्कार गर्न माडीका राजनैतिक दलहरुलाई अनुरोध गरेको छ ।

अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले माडीको समग्र विकासमा अवरोध एवं भूमि सम्बन्धी समस्या लगायतका गम्भीर विषयहरुलाई समेत अप्ठ्यारो पारेको वन ऐन तथा मध्यवर्ती व्यवस्था सम्बन्धी विषयहरू यथावस्थामै रहिरहेको स्थितिमा मध्यवर्तीको निर्वाचन सम्बन्धी गतिविधिहरू सुरु गर्न थालिएकोप्रति समृद्धिका लागि युवा अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो अनुरोध गरेको हो ।

यही अवस्थामा मध्यवर्ती उपभोक्ता समितिको चुनाव गराउनु जनविरोधी तथा माडीको अहितमा छ भन्ने निष्कर्षका साथ माडीभित्रका सम्पूर्ण राजनीतिक दलहरू, स्थानीय सरकार, बुद्धिजीवी तथा आम जनसमुदायलाई सशक्त ढंगले चुनाव बहिष्कार गर्दै समग्र माडीको हीतमा दृढताका साथ उभिनका लागि अनुरोध गर्ने निर्णय गरिएको अभियानले एक वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।
