

माडी चितवन – माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको चालू आर्थिक बर्ष २०८०/८१ को दोश्रो चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम माडी-७ देवेन्द्रपुर (जगन्नाथपुरी)स्थित बाबियोडाँडामा सम्पन्न भएको छ ।

नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो सुनुवाई कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाहरुलाई माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपमेयर खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसाल र स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरे लगायतले उत्तरित गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी रहँदै खेमलाल पोख्रेलले दूध बेचेको पैसा पाउन नसकिएको गुनासो गर्दै कृषिमा बजेट बढाउन र पतरे खोलाको पुल निर्माण अगाडि बढाउन माग गर्नुभयो । त्यस्तै अर्का प्रश्नकर्ता रमाकान्त सापकोटाले नगरक्षेत्रका सार्वजनिक जग्गा नक्साङ्कन गर्न, खेतीयोग्य जमीनमा खेती गर्ने वातावरण मिलाउन एवं स्वास्थ्य बीमा पाउनुपर्नेले नपाएको अवस्था रहेकोतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

यसैगरी, शोभाखर अधिकारीले दक्षिणी माडीमा सिंचाईको व्यवस्था गरी फलफूल खेती विकास गर्न सुझाब दिनुभयो । पूर्णप्रसाद सुवेदीले निकुञ्ज ऐन संशोधनका लागि नगरप्रमुखको नेतृत्वमा काठमाण्डौ गई आन्दोलन गर्नुपर्ने औंल्याउनुभयो ।
यस्तै, युवराज ढकालले आयआर्जनका कार्यक्रम बढाउन माग गर्नुभयो भने वंशराज मर्दनियाले नगर क्षेत्रको सार्वजनिक जमीन संरक्षणमा ध्यान दिन अनुरोध गर्नुभयो । त्यस्तै अनलाइनमार्फत प्रेम आचार्यले पूर्वी माडीको निर्माणाधीन हुलाकी सडकमा धूलो व्यवस्थापन गर्न माग गर्नुभयो । पुष्प गायकले कान्तिपुरको बाटो कहिले पिच हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
यसैगरी राजनीतिक दलका प्रतिनिधिहरुले समेत सामयिक सुझावहरु प्रस्तुत गरेका थिए । स्वदेश एफ.एम.को सहजिकरणमा सञ्चालित सो कार्यक्रममा नगर कार्यपालिकाका सबैजसो सदस्य, माडी नगर क्षेत्रका राजनैतिक दल, शैक्षिक संस्था, सुरक्षा निकाय, टोल बिकास समिति, युवा महिला, बाल क्लब, बिद्यार्थी र माडीबासीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।