माडी चितवन – माडीको गोद्धक क्षेत्रमा पाँचदिने रामनवमी गोद्धक मेला सुरु भएको छ । यसबर्ष पाँच दिन अर्थात चैत २६ गतेसम्म सञ्चालन हुनेगरी मेला सञ्चालन सुरु भएको हो ।
गोद्वक मेला व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न मेला समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहँदै माडी नगर उपप्रमुख खेमप्रसाद महतोले मेलाको औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रममा हाल अमेरिका निवासी धार्मिक अध्येता एवं श्रीराम संस्थाका अध्यक्ष थलराज पन्त र वडाध्यक्ष अमित कुमार लामाको विशिष्ट आतिथ्य रहेको थियो ।
गोद्धक मेला अन्तरगत यसबर्ष थारु कल्याणकारिणी सभा माडीसंगै सेरुवा गाउँ समाजको आयोजनामा चौबिस घण्टे अखण्ड संकीर्तन (अष्टजाम), निःशुल्क भोजन, वडास्तरीय लोकदोहोरी प्रतियोगिता, स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा महिला तथा पुरुष भेट्रान भलिबल एवं अन्य खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।

धार्मिक तथा पौराणिक रूपमा महत्वपूर्ण गोद्धक मेलामा बर्षेनी हजारौं भक्तजन तथा पर्यटकहरूको आगमन हुने गर्दछ । मेलासंगै परशुराम (ब्रह्म) कुण्ड स्नानका लागि समेत नेपाल एवं भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।



