स्वदेशपोष्ट विशेष

माडी ठोरी हुलाकी सडक अन्तरगत जीवनपुरदेखि खरकट्टासम्म प्राइम छर्किने काम सकियो

चितवन, माडी — नारायणगढ माडी ठोरी हुलाकी सडक कालोपत्रे कार्य अन्तरगत माडी-८ वडामा पर्ने जीवनपुरदेखि खरकट्टासम्म प्राइम छर्किने काम सकिएको छ ।

करीब २.५ किलोमिटर लम्बाइको सो सडकमा प्राइम छर्किइसकेको र आउँदो बैशाख ३ गतेबाट बि.बि.एम. सुरु गरी बैशाख २० गतेभित्र अस्फाल्टको काम पुरा गरिसक्ने ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरेले बताउनुभयो ।

यसबाहेक माडी-९ मा पर्ने कृष्णनगरदेखि बगहीं खोलासम्म स्ट्रक्चरको काम पुरा गरिसकेको जनाउँदै घिमिरेले आउँदो असारभित्र बगहीँसम्मको सडकमा समेत कालोपत्रे सक्ने र असोज महिनाभित्र बगहीँ बसपार्कसम्मको काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

देबेन्द्रपुरको सीमामा रहेको परुई खोलादेखि बगहीसम्म करीब ८.१५७ किलोमिटर लम्बाई तथा ७ मिटर चौडाईको सो दुईतर्फी कालोपत्रे सडक निर्माण २०७६ फागुन १५ गते निर्माण सुरुवात भएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजद्वारा निर्माण भइरहेको सो सडक निर्माणको कुल लागत करीब ३५ करोड रहेको छ ।

बज्रगुरु कन्स्ट्रक्सन (प्रा.) लि.ले ठेक्का पाएको सो सडक बनाइसक्नुपर्ने समयसीमा २.५ बर्षमात्रै रहेपनि निर्माण पक्षबाट निरन्तर ढिलाई र योजना कार्यालयबाट पटक पटक समय थप हुँदै आएको छ । समयमै निर्माण पुरा नहुँदा स्थानीयबासीले धुलोमैलो एवं असहज डाइभर्सनका कारण हैरानी खेप्नु परिआएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार