चितवन खबर पोष्ट

रसुवा बाढीपीडितका लागि माडी नगरपालिकाको ४३ लाख ९८ हजार सहयोग

चितवन, १८ भाद्र २०८३ — माडी नगरपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एकमुष्ठ ४३ लाख ९८ हजार २०६ रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाको ८४औँ नगर कार्यपालिका बैठकले राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ।

बैठकको निर्णयअनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट १० लाख र जनप्रतिनिधिहरू मध्ये नगर प्रमुख तथा उपप्रमुखबाट १० दिन बराबरको सेवा सुविधा, वडाध्यक्षहरूबाट ८ दिनको सेवा सुविधा, कार्यपालिका सदस्यहरूबाट ७ दिन तथा वडा सदस्यहरूबाट ५ दिन बराबरको सेवा सुविधा गरी १ लाख ५८ हजार ६९७ रूपैंया उद्धार कोषमा उपलब्ध गराइनेछ ।

त्यस्तै, कर्मचारीहरू मध्ये अधिकृतस्तरको ७ दिन बराबरको तलब, सहायकस्तरको ५ दिन र श्रेणीबिहीनहरूको २ दिनको तलब गरी कूल १२ लाख ५९ हजार ६४१ रुपैयाँ तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीहरूबाट १९ लाख ७९ हजार ८६८ रुपैयाँ संकलन हुनेछ।

तपाईको प्रतिक्रिया