चितवन, १९ भाद्र २०८३ — माडीको बरुवामा ३१औं संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन हुनुपूर्व बरुवा बजार क्षेत्रमा झाँकीसहितको शोभायात्रा निकालिएको थियो । नेपाली महिलाहरुको महान पर्व तीज र जितियाको अवसर पारी स्टार स्पोर्ट क्लब, बरुवाको आयोजनामा शुक्रबार (आज)बाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको समुद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब र नारायणी मोटर्स युनिक फुटबल क्लब, भरतपुर खेलेकोमा युनिक फुटबल क्लबले जित निकालेको छ । खेलको निर्धारित समयमा ०-० गोलको बराबरी भएसंगै टाइब्रेकरमा धकेलिएको खेलमा ५-४ गोलअन्तरबाट युनिक फुटबल क्लब विजयी भएको हो ।

खेलको म्यान अफ युनिकका हार्दिक भण्डारी (जर्सी नं. १५) घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत शनिवार (भोलि) आयोजक स्टार स्पोर्ट युवा क्लब माडी र योंग व्याईज फुटबल क्लब, देवदह खेल्नेछन् ।




