चितवन, १९ भाद्र २०८३ — चितवनमा सम्पन्न ‘एसियन पेन्ट्स च्याम्पियन्स कप’ (अखिल नेपाल अन्तरविद्यालय यु-१८ फुटबल प्रतियोगिता) को जिल्लास्तरीय उपाधि माडी मावि वसन्तपुरले जितेको छ। कुल २४ सहभागी विद्यालयहरूलाई पछाडि पार्दै उत्कृष्ट प्रदर्शनका साथ माडी मावि वसन्तपुर चितवन जिल्लाको च्याम्पियन बन्न सफल भएको हो।
प्रतियोगिताभर सानदार र उत्कृष्ट खेल प्रदर्शन गरेको माडी मावि वसन्तपुरले पहिलो खेलमा नारायणी पब्लिक स्कुल, भरतपुरलाई ५-१ को फराकिलो गोलअन्तरबाट पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो। त्यसैगरी, दोस्रो खेलमा प्रतिस्पर्धात्मक प्रतिस्पर्धाका बीच गुरुकुल स्कुल, भरतपुरलाई १-० ले पराजित गर्दै टोली अघिल्लो चरणमा प्रवेश गरेको थियो।
सेमिफाइनल खेलमा पनि आफ्नो लय कायम राख्दै माडी माविले अर्बिट स्कुल, भरतपुरलाई २-० गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो।

शुक्रबार (आज) भएको रोमाञ्चक फाइनल भिडन्तमा वाल्मीकि शिक्षा सदन, भरतपुरलाई ३-० को स्पष्ट गोल अन्तरले पराजित गर्दै माडी मावि वसन्तपुरले उपाधिमाथि कब्जा जमाएको हो।
जिल्ला च्याम्पियन बनेसँगै अब माडी मावि वसन्तपुरको टोलीले काठमाडौँमा हुने राष्ट्रिय चरणको खेलमा देशभरका उत्कृष्ट विद्यालयहरूसँग माडी माविले प्रतिस्पर्धा गर्नेछ।



