चितवन खबर पोष्ट

‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट

चितवन, माडी — भरतपुरस्थित ६.८ किलोमिटर लामो ‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउँदै हुनुहुन्छ ।

संघीय सरकारको बजेटमा सगुन कन्स्ट्रक्सन प्रालिद्वारा निर्मित ६.८ किलोमिटर लम्बाई र ५० मिटर चौडाइ रहेको सो सडकमा फुटपाथ, सर्भिस लेन, ढल निकास, अन्डरग्राउन्ड विद्युत् तथा ६ सय स्मार्ट स्ट्रीट लाइट जडान गरिएको छ ।

२०७७ असोज २६ गते सम्झौता भएको परियोजना २८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको थियो । प्रारम्भमा १ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिए पनि अन्ततः खर्च १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

सडक विस्तारको शिलान्यास आफू प्रधानमन्त्री रहँदा ओलीले २०७७ माघ १७ गते गर्नुभएको थियो । यसअघि चैत २५ गते उद्घाटनको तयारी भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण कार्यक्रम स्थगित भएको थियो । कोभिड महामारी, निर्माण सामग्रीको अभाव, बजेट निकासमा ढिलाइ, र भौतिक अवरोधहरूका कारण ढिलागरी सडक निर्माण सकिएको हो ।

प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन तथा नारायणगढ–बुटवल सडकको निरीक्षण पनि गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार