देश-प्रदेश खबर पोष्ट

माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ

माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल खेलका लागि होइन, माडीसंग सम्बन्धित एक सामाजिक उद्देश्यका साथ दौड्न लाग्नुभएको हो ।

गोर्खाप्रेनियर फाउण्डेशनका प्रमुख समेत रहनुभएका ५२ वर्षीय गुरुङले माडीका विपन्न एवं एकल महिलाहरुलाई उद्यमशील बनाउन आर्थिक सहयोग गर्ने लक्ष्यसहित सहयोग संकलन अभियान अन्तरगत सो दौड स्पर्धामा सहभागी रहँदै हुनुहुन्छ । फेसबुक र GoFundMe मार्फत सञ्चालन गरिएको अभियानमा हालसम्म १४०० पाउण्ड (करीब २ लाख ५० हजार रुपैंया) भन्दा बढी रकम संकलन भइसकेको छ ।

गुरुङले म्याराथनपछि सहयोग अभियान बन्द गर्ने र संकलित रकमको पारदर्शी विवरण सार्वजनिक गर्दै नेपाल (माडी नगर क्षेत्र)मा सहयोग हस्तान्तरण गर्ने बताउनुभयो । यो कार्यको स्थानीय संयोजन माडी–९, कृष्णनगरस्थित ग्रिनल्याण्ड युवा क्लबबाट र अन्य सहयोग स्वदेश एफ.एम.बाट हुनेछ ।

बेलायतका विभिन्न शहरहरू साथै फ्रान्सबाट समेत सहयोग प्राप्त भइरहेको गुरुङले जानकारी दिनुभयो । यसअघि तीन बर्षअघि माडीका तीनजना महिलाहरुलाई सहयोग प्रदान गरिएकोमा यसबर्ष सो संख्यामा थप हुने उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार