

माडी, चितवन — माडी नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक पशुपालन विकासका लागि ‘खोरेत मुक्त सेतो माडी अभियान अगाडि’ बढेको छ । अभियानलाई नगरसंगै प्रदेशकै गौरवको योजनाका रुपमा सञ्चालन गर्न लबिङ स्वरुप सोमबार हस्ताक्षर अभियान सञ्चालन भएको छ ।

माडी नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौडेल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो लगायत जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, दुग्ध उत्पादक कृषक तथा अन्य सरोकारवालाहरुले हस्ताक्षर गर्दै अभियानमा ऐक्यवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य ढकालले माडी नगरपालिकामा दुग्ध उत्पादन र पशुपालनको राम्रो सम्भाव्यता रहेको औंल्याउँदै यसको विकासमा सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै, माडी नगरप्रमुख महतोले खोरेत मुक्त सेतो माडी अभियानलाई बार्षिक नीति तथा कार्यक्रममा समेटेको र व्यवहारिक कार्यान्वयनतर्फ काम गरिरहेको जानकारी दिनुभयो । भैरवी दुग्ध सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित सो कार्यक्रम सहकारीका अध्यक्ष श्रीप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।
