कृषि र कृषक पोष्ट

डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह

चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर र गोपालनगर क्षेत्रका दुई सयभन्दा बढी कृषकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

स्थानीय कृषकहरू हरी रानाभाटका अनुसार सो सिँचाइ परियोजनाले कृषकहरुको कृषि उत्पादनमा उल्लेख्य सुधार ल्याएको छ। सतह सिँचाइको माध्यमबाट खेतमा सजिलै पानी पु-याउन सकिने भएकोले धान, तरकारी तथा अन्य मौसमी बालीहरू उत्पादन गर्न सहज भएको बताइएको छ ।

कार्यक्रम सम्पन्न भएपछि स्थानीय कृषकहरू, उपभोक्ता समिति तथा सर्वसाधारणले माडी नगरपालिका, वडा नम्बर ७ र माछा जोन माडीप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले अब आगामी दिनमा पनि जुन–जुन स्थानमा सतह सिँचाइ सम्भव छ, त्यस्ता स्थानहरूमा भूमिगत प्रणालीको सट्टा सतह सिँचाइ प्रणालीलाई नै प्राथमिकता दिन आग्रह गरेका छन् ।

स्थानीय तह र सम्बन्धित निकायहरू समन्वय गरेर कृषकहरूको जीवनस्तर उकास्ने यस्ता परियोजना थप कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार