माडी चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समितिले माडी क्षेत्रमा पटक–पटक सूचनाविनै विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल विद्युत् प्राधिकरणको माडी प्रशाखालाई ज्ञापनपत्र बुझाएको छ।
पार्टी इञ्चार्ज गिरधारी सुवेदी र नगर अध्यक्ष भरत प्रसाद तिमिल्सिनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बिना सूचना दिनरात पटक–पटक विद्युत अवरुद्ध गर्नुले सर्वसाधारण, किसान, शिक्षक–विद्यार्थी, उद्यमी, दुग्ध व्यवसायी, पशुपालक, कुखुरापालकदेखि अस्पताल तथा बिरामीहरूसम्मको दैनिक जीवन प्रभावित भएको उल्लेख गरिएको छ ।

त्यस्तै, माडी जस्तो प्रकोपग्रस्त क्षेत्रमा जंगली जनावर, सर्पदंश र बाढीको जोखिम रहेको क्षेत्रमा विद्युत अभावले जनसुरक्षामा गम्भीर असर पारिरहेको पनि ज्ञापनपत्रमा उल्लेख छ। साथै, माडी क्षेत्रमा सिंचाइको झन्डै ७० प्रतिशत हिस्सा भुमिगत पम्पिङ सिस्टमबाट सञ्चालन हुँदै आएकोमा विद्युत नियमितता नहुँदा कृषकहरू मारमा परेको भनिएको छ।

पार्टीले विद्युत् प्राधिकरण जस्तो संवेदनशील निकायले गैरजिम्मेवार तरिकाले काम गरेको भन्दै तत्काल जिम्मेवारीपूर्वक काम गर्न र आपूर्ति अवरुद्ध गर्नु परेमा पूर्व सूचना दिन आग्रह गरेको छ। अब पनि यस्तै लापरवाही जारी रहेमा यसको कारणले हुने आर्थिक क्षतिको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले लिनुपर्ने बताउँदै ज्ञापनपत्रमार्फत पार्टीले नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न वा लोडसेडिङको स्पष्ट समय तालिका सार्वजनिक गर्न सुझाएको छ।

