माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ ।
सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे) राख्ने काम लामो समयसम्म रोकिएको सो सडक खण्ड सहित राप्ती नदीको पुलमाथि सोमबार कालोपत्रे सुरु भएकोमा आज मंगलबार कार्यसम्पन्न भएको भरतपुर महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष दीपक दवाडीले जनाउनुभयो ।

माडी-१ बनकट्टा निवासी ठेकदार गणेश पाण्डेको जि.एम.आर. कन्स्ट्रक्सन कम्पनीले केहि बिलम्ब गर्दै सो कालोपत्रे कार्य पुरा गरेको हो । सो सडक खण्डमा कालोपत्रे पुरा भएसंगै राप्ती पुलहुँदै यात्रा गर्ने मुख्यतः माडीबासीलाई सहजता हुनेछ ।

राप्ती नदी पारीको सामुदायिक वन क्षेत्रमा कालोपत्रे सकिएपनि निकुञ्जभित्र कसरादेखि बनकट्टासम्मको सडक स्तरोन्नति कार्यमा भने अलमल एवं अनिश्चय कायमै रहेको छ । निकुञ्जको कोर क्षेत्रभित्रको सडक निर्माण कार्य हाल वातावरणीय प्रभाव अध्ययन प्रक्रियामै अँड्किएको अवस्था छ

