चितवन खबर पोष्ट

माडीका वडाहरूद्वारा स्वास्थ्य वीमाका लागि कूल ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन

चितवन, माडी — माडी नगरपालिकाका सबै ९ वटै वडाहरुले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै कूल ४६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् ।

स्वास्थ्य वीमाका लागि वडागत रूपमा माडी-४ले सबैभन्दा धेरै १० लाख ५० हजार रुपैयाँ छुट्याएको छ । त्यसपछि माडी-२ ले ८ लाख ५० हजार, माडी-३, ५, र ८ ले जनही ५ लाख, माडी-१ ले ४ लाख, माडी-९ ले ३ लाख ५० हजार, माडी-६ ले ३ लाख र माडी-७ ले २ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

माडी नगरपालिकाले स्वास्थ्य वीमा र छात्रवृत्तिजस्ता कार्यक्रम वडाकै जिम्मेवारीमा छाडेसंगै वडा कार्यालयहरु स्वास्थ्य वीमाका लागि बजेटको ठूलो हिस्सा छुट्याउनुपर्ने अवस्थामा रहँदै आएका छन् । स्वास्थ्य बीमाको पहुँचविहीन बिपन्न नागरिकहरूसंगै अशक्त र दीर्घरोगीहरुलाई स्वास्थ्य वीमामा समेटिने गरिएको वडा कार्यालयहरु बताउँछन् ।

तर वडा कार्यालयहरुलाई आफू नजिकका सम्पन्न परिवारलाई पनि सो सुबिधामा समेट्ने गरेको आरोप लाग्ने गरेको छ । जनस्तरबाट त्यस्तो गुनासो बढेसंगै केहि वडाहरुले स्वास्थ्य वीमाको सेवा लिएका लाभग्राहीहरुको सुची प्रकाशन गर्न थालेको देखिएको छ ।

तपाईको प्रतिक्रिया