चितवन खबर पोष्ट

माडी नगरपालिकाद्वारा नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक

माडी, चितवन । माडी नगरपालिकाले अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । नगरपालिका र माडी अटो व्यवसायी समितिबीचको सहमतिमा तय गरिएका भाडाका नयाँ दरहरू साउन ५ गतेदेखि लागू भएका हुन् ।

नगरपालिकाले कायम गरिदिएको भाडादर अनुसार प्रतिव्यक्ति बसन्तपुरदेखि घोसरी पारीको भाडा १२५ रुपैयाँ, घोसरीसम्म २०० रुपैयाँ, भुजेल टोलसम्म १२५ रुपैंया, बगईसम्मको भाडा ४०० रुपैयाँ, गणेश कुञ्ज र कृष्णनगरसम्म ३५० रुपैयाँ तोकिएको छ । यसैगरी, बसन्तपुरबाट बरुवासम्म प्रतिव्यक्ति रु. १००, घाँघरसम्मको रु. २००, भ्यु टावर र स्याउलीबाससम्मको रु.१००, सिमराको रु. १५० र भंगता आँपेटोलसम्म रु.१२० कायम भएको छ ।

यसबाहेक, बरुवा बजारबाट बनकट्टा बोटे टोलसम्म १२५ रुपैंया, पाण्डवनगरसम्म २०० रुपैंया, शिकारीपुरको १२५, डाँडागाउँ सितलपुरको १००, अम्रौलीको १२५ र रेडहिलको १७५ कायम भएको छ । त्यस्तै, बरुवाबाट भैरवपुर स्कुलसम्म रु. १००, बैराठसम्म १२५, गुरुङ गाउँसम्म रु. १२५, घोसरीसम्म रु.२०० र सिधुवासम्मको रु.१०० कायम भएको छ ।

अटोमा ७ वर्षभन्दा माथिका यात्रुहरूलाई मात्र भाडा लाग्ने व्यवस्था गरिएको छ भने रिजर्भ सेवा र रात्री सेवाका लागि भाडा दुई पक्षबीचको समझदारीमा निर्धारण गरिने उल्लेख गरिएको छ । नयाँ भाडादर लागू भएसंगै अटो व्यवसायीहरुले बिहीबार बिहान ७ बजे बसन्तपुर बजारमा भेला भई दररेट टाँस गर्ने कार्यक्रम बनाएका छन् ।

अटोको भाडादर फरकफरक र उच्च रहेको गुनासोबिच नगर कार्यपालिकाले तीनपाङ्ग्रे अटो सञ्चालनमा भाडादरमा एकरुपता ल्याउने प्रयास गरेको हो । तर, विद्युतीय ई–रिक्सा र सामान बोक्ने अटोको भाडादरबारे भने परिपत्रमा केहि उल्लेख छैन । यस्तै, (कालो प्लेटमा यात्रु ओसार्ने) अटो गाडीमा विद्यार्थी छुटको व्यवस्थाबारे पनि केहि सम्बोधन रहेको देखिँदैन ।

तपाईको प्रतिक्रिया

ताजा समाचार