बहुविवाह सम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीमा विरोध प्रदर्शन (भिडियो सहित)

माडी, चितवन — बहुविवाहसम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीको बसन्तपुर बजारमा विरोध कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १०० भन्दा बढी स्थानीयबासी, महिला अधिकारकर्मी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो कार्यक्रमको आयोजना चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकार मञ्च, आफत नेपाल, युथ मोटिभेटर ग्रुप, नगर युवा सञ्जाल माडी, चेली नेपाल तथा सिर्जनशील महिला समूह बसरतपुर लगायतका संघसंस्थाले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा महिलामाथि हिंसा र भेदभाव बढाउने सम्भावना रहेको भन्दै बहुविवाहलाई वैधानिकता दिने प्रयासको कडा निन्दा गरिएको थियो। वक्ताहरूले संविधान र मानव अधिकारको मर्म विपरीत हुने यस्ता अभिव्यक्तिहरूको सशक्त विरोध गर्नु समयको माग भएको बताए।

कार्यक्रममा शान्तिपूर्ण रूपमा प्लेकार्ड प्रदर्शन र कोणसभामा मन्तव्यहरू प्रस्तुत गरिएका थिए। संघसंस्थाहरूले यस्तो अभिव्यक्तिविरुद्ध थप संघर्ष र सचेतना अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन्।

तपाईको प्रतिक्रिया