स्वदेशपोष्ट विशेष

माडीका राजनैतिक दलहरुले मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन प्रक्रिया स्थगत गर्न सामुहिक आह्वान

माडी, चितवन । माडीका राजनैतिक दलहरुले मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन प्रक्रिया स्थगत गर्न सामुहिक आह्वान गरेका छन् । एक सामुहिक वक्तव्य प्रकाशित गर्दै दलहरुले, धानखेतमा गैंडा मरेको घटनामा माडी-२, भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पक्राउ परेसंगै सिर्जित हालको अवस्थाले निकाश नपाउँदासम्म निर्वाचन प्रक्रिया रोक्न सामुहिक आग्रह गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले मुद्दाका निम्ति अनुसन्धानमा राखेका कृषक श्रेष्ठको रिहाईका लागि निकुञ्ज प्रशासन र सम्बन्धित निकायहरुसंग छलफल र संवादमा रहेको उल्लेख गर्दै वक्तव्यमा यस बिषयमा सबै दलहरूले एउटै धारणा बनाई अगाडि बढेको जनाएका छन् ।

वक्तव्यमा, नेपाली कांग्रेस माडी नगर समिति सभापति कोमलनाथ भुसाल, नेकपा (एमाले) माडी नगर समिति अध्यक्ष नारायणप्रसाद अधिकारी, नेकपा (माओवादी केन्द्र) माडी नगर प्रतिनिधि गंगा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी माडी नगर समिति सभापति नारायणदत्त रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समिति अध्यक्ष विरेन्द्र बहादुर भण्डारी र नेकपा (एकीकृत समाजवादी) माडी नगर समिति अध्यक्ष पुरन महतोको हस्ताक्षर रहेको छ ।

त्यसअघि, किसान हरिभक्त श्रेष्ठको रिहाईको पहलका लागि माडीको एक प्रतिनिधिमण्डलले निकुञ्जका वार्डेनसंग भेटवार्ता गरेको थियो । चितवन क्षेत्र नं. ३(ख)का प्रदेश सांसद ठाकुर प्रसाद ढकाल र माडी नगरप्रमुख ताराकुमारी काजी महतो सहित माडीका राजनैतिक दलका प्रतिनिधिहरुले निकुञ्ज मुख्यालय कसरामा वार्डेन डा. गणेश पन्तसंग सो भेट गरेका थिए।

भेटका क्रममा माडीको प्रतिनिधिमण्डलले कृषक श्रेष्ठको बिनासर्त रिहाईको माग गरेको थियो । त्यस्तै निकुञ्जको सबैतिर सोलार फेन्स मर्मत वा नयाँ जडान गर्नुपर्ने समेत माग रहेको थियो । जवाफमा वार्डेन डा. पन्तले मुद्दा प्रक्रियामा मिलेसम्म सहजिकरण गर्ने साथै सोलार फेन्स जडान वा मर्मत कार्य पुरा गर्ने बताउनुभएको प्रतिनिधिमण्डलका एक सदस्य श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

गत श्रावण २१ गते बुधबारका दिन माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषक श्रेष्ठलाई पक्राउ गरेको थियो । हाल जिल्ला अदालत चितवनबाट म्याद थप लिएर निकुञ्ज प्रशासनले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया