चितवन खबर पोष्ट

माडी नगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चितवन । माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८१/८२ कोे तेश्रो चौमासिक तथा वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम बरुवा बजारमा सम्पन्न भएको छ ।

नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो सुनुवाई कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाहरुलाई माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले उत्तरित गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले विशेषतः राम मन्दिर निर्माणमा बजेट, अपांगमैत्री संरचना निर्माण हुन नसकेको, लागुपदार्थ दुर्ब्यसनी नियन्त्रण हुनुपर्ने, जनताको राय बुझेर योजना छनौट गर्नुपर्ने, निकुञ्ज प्रभावित क्षेत्रको बिकास गर्नुपर्ने, साे. मा. वि. पछाडिको बाटोकोे विवाद समाधान गर्नुपर्ने, माडी क्याम्पसमा निःशुल्क यातायातकोे ब्यबस्था गर्नुपर्ने, वडा १ कार्यालयको भवन निर्माण हुनुपर्ने, फोहोर संकलन शुल्क अत्यधिक वृद्धि भएको जस्ता विषयहरु उठान भएका थिए ।

यसैगरी राजनीतिक दलका प्रतिनिधिहरुले जनचाहना बुझेर काम गर्नुपर्ने, वातावरणमैत्री संरचना बनाउनुपर्ने सबै संग समन्वय र सहकार्य गर्नुपर्ने र सबैको अपनत्व हुनेगरी योजना बैंक निर्माण गर्नुपर्ने जस्ता सुझावहरु प्रस्तुत गरेका थिए ।

स्वदेश एफ.एम.को सहजिकरणमा सञ्चालित सो कार्यक्रममा नगर कार्यपालिकाका सबैजसो सदस्य, माडी नगर क्षेत्रका राजनैतिक दल, शैक्षिक संस्था, सुरक्षा निकाय, टोल बिकास समिति, युवा महिला, बाल क्लब, बिद्यार्थी र माडीबासीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया