माडी, चितवन — जनकल्याण तमु समाजद्वारा आयोजित ‘चौथो कृष्ण जन्माष्टमी माडी स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवाले जितेको छ ।
प्रतियोगिता अन्तर्गत शनिवार (श्रावण ३१ गते) साँझ भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरमा धकेलिएको खेलमा स्टार स्पोट्र्स बरुवा (बी टीम)ले दुरा ब्वाइज बगहीँलाई २-० ले हराउँदै चौथो कृष्ण जन्माष्टमी कप उचालेको हो ।

त्यसअघि शुक्रबार (श्रावण ३० गते) भएको पहिलो सेमिफाइनल खेलमा दुरा ब्वाइज बगहीले स्टार स्पोट्र्स बरुवा (ए टीम)लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा स्टार स्पोट्र्स बरुवा (ए टीम) ले रेवा फुटबल क्लब धोवाहलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपरको उपाधी स्टार स्पोट्र्स बरुवाका सुरज शाह घोषित हुनुभयो । त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि पनि स्टार स्पोट्र्स बरुवाकै पदम नेपालीले हात पार्नुभयो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दुरा ब्वाइज बगहींका अश्विक दुरा घोषित हुनुभयो ।

