माडी, चितवन — यमपञ्चकको पहिलो दिन शनिवार एकाबिहानै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१५ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एकआपसमा ठोक्किँदा पछिपछि आएका अन्य पाँचवटा सवारीसाधन पनि एकपछि अर्को ठोक्किएका हुन्।


दुर्घटनामा बसको पछाडि आइरहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको ईभी माइक्रो, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र BAB ८४७० नम्बरको कार समेत दुर्घटनामा परेका छन्।

घटनापछि सडक केही समयका लागि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएका सबैको उद्दार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। हालसम्म १३ जना नेशनल सिटी अस्पतालमा, ४ जना नयाँ मेडिकल कलेजमा र ४ जना जनता केयर अस्पतालमा उपचाररत छन्।

