चितवन खबर पोष्ट

निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल

माडी, चितवन — चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनकट्टा–देउराली सडक खण्डमा ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल भएको छ ।

करीब ३.७ किलोमिटर लम्बाइको उक्त सडकखण्डमा तत्कालका लागि करिब २०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती भएको छ ।

छलफलमा जेनजी र युवाहरु सम्मिलित अनुगमन तथा निरीक्षण समिति गठन गरी बनकट्टा पोष्टबाट काम सुरु गर्ने, साथै प्राविधिक, निर्माण पक्ष र विज्ञको सुझाव समेट्दै कामलाई निरन्तरता दिने सहमति भएको हो ।

यसअघि जेनजी र युवाहरुको अगुवाइमा माडी नगरपालिकाका जनप्रतिनिधि सहितको टोली काठमाण्डौ गएर वन तथा वातावरण मन्त्रालयसँग छलफल गरेको थियो । उक्त छलफलपछि गत असोज २४ गते मन्त्रालयले ढुंगा तथा ब्लक प्रयोग गरी निकुञ्जभित्र अस्थायी मर्मत कार्य गर्न लिखित अनुमति दिएको थियो ।

ब्लकको भारवहन क्षमता र गुणस्तरको अध्ययनका लागि माडीको एक प्रतिनिधि मण्डलले हालै वीरगंज र जनकपुर क्षेत्रको भ्रमण समेत गरेको थियो । नगरपालिकाले विशेष नगरसभामार्फत सो सडकका लागि पाँच करोड रुपैयाँ बढीको बजेट विनियोजन गरी ग्राभेल कार्य सुरु गरिसकेको छ । (फोटो: ए आई बाट सिर्जित पार्श्वचित्र)

तपाईको प्रतिक्रिया

ताजा समाचार