२५ मंसिर, माडी । नारायणगढस्थित नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’को तेस्रो संस्करण सुरु भएको छ। बिहीबार (आज)देखि सुरू भएको यो तीनदिने (२५–२७ मंसिर) विचार, साहित्य र बहसको उत्सवमा कविता, गजल, नाटक, बहस तथा विद्वत प्रवचनलगायत विविध कार्यक्रमहरू समेटिएका छन्।
उद्घाटनको दिन बिहीबार कविता तथा गजल वाचनको विशेष सत्र आयोजना गरिएको छ। यस्तै, मंसिर २६ र २७ गते गरी १५ वटा गम्भीर बहस तथा मन्थन सत्रहरू सञ्चालन हुनेछन्। उत्सवको प्रमुख आकर्षण भारतकी चर्चित आदिवासी कवि तथा चिन्तक जसिन्ता केरकेट्टाको विद्वत प्रवचन रहनेछ।

आयोजक तथा संस्थापक निर्देशक सरिता तिवारीका अनुसार, यस वर्षको उत्सव भदौ २३–२४ गते भएको युवा विद्रोह, त्यसले निम्त्याएको राजनीतिक–सामाजिक उथलपुथल र आगामी कार्यदिशामाथि केन्द्रित रहनेछ। साथै, भुइँमान्छेका आवाज, सरोकार र पीडालाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताइएको छ।

नेपाल र भारतका ५० भन्दा बढी प्रख्यात विद्वान, विश्लेषक, युवा राजनीतिज्ञ, अभियन्ता, साहित्यकार तथा पत्रकारहरू वक्ता, सहजकर्ता र प्यानलिस्टको रूपमा सहभागी हुनेछन्। ‘बेटर चितवन’ र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा भइरहेको यस उत्सवमा ४५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ।

