चितवन खबर पोष्ट

रङ्गशाला भुक्तानी सहजीकरणका लागि मेयर रेनु दाहाल नेतृत्वको टोली काठमाडौंमा

२३ मंसिर, माडी । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी प्रक्रियालाई अघि बढाउन भरतपुर महानगरपालिकाको उच्चस्तरीय टोली काठमाडौं पुगेको छ।

धुर्मुस-सुन्तली फाउण्डेशनलाई भुक्तानीका लागि कानुनी र प्रशासनिक सहजीकरण आवश्यक परेपछि मेयर रेनु दाहाल नेतृत्वको टोलीले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च सरकारी सरोकारवालाहरूसँग भेटवार्ता थालेको हो।

मेयर दाहाल, उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसमेतको टोलीले प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भेट गरी रङ्गशालाको रकम भुक्तानी प्रक्रियालाई सहज बनाउन अनुरोध गर्ने कार्यक्रम छ।

मेयर दाहालले भरतपुर महानगरले फाउण्डेशनलाई सकेसम्म चाडो भुक्तानी गर्न चाहेकाले प्रक्रियागत बाधा हटाइदिन सरकारसँग आग्रह गरिएको बताउनुभयो । उपमेयर अधिकारीले पनि फाउण्डेशनलाई भुक्तानी गर्ने इच्छा भए पनि ऐन–कानुनका कारण जटिलता बढेको बताउनुभयो।

धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा रङ्गशाला निर्माण सुरु गरे पनि बीचमै काम छाडेपछि परियोजना जिम्मेवारी महानगरपालिकाले ग्रहण गरेको थियो। फाउण्डेशनले सम्पन्न गरेको काममध्ये रु ५७ करोड १२ लाख बराबरको निर्माण मूल्य दाबी गरेको छ, जसमा करिब रु १८ करोड ४३ लाख उधारो रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया