चितवन खबर पोष्ट

नेपाली कम्युनिष्ट पार्टीले चितवन क्षेत्र–३ बाट संघीय संसद उम्मेदवारका लागि रेनु दाहाल सिफारिस

१० पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी संघीय निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा सम्पन्न बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो । भरतपुर महानगरपालिकाको मेयरका रूपमा दाहालले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा तथा सेवा प्रवाहमा उल्लेखनीय पहल गर्नुभएको छ ।

सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा स्वयं उपस्थित दाहालले भरतपुर महानगरपालिकामा करिब नौ वर्ष काम गरेको अनुभव र जनताको अपार माया आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । भरतपुर र माडी क्षेत्रका जनताबाट सदैव माया र साथ पाउँदै आएको उहाँको भनाई थियो ।

चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । पछिल्लो समय बढ्दो राजनीतिक प्रतिस्पर्धा र चुनौतीका बीच पनि जनताको पक्षमा प्रभावकारी काम गर्दै आएको मूल्याङ्कनका आधारमा उहाँलाई एकल सिफारिस गरिएको सो पार्टी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया