११ पाैष, माडी । माडीमा पहिलोपटक ब्रोडब्यान्ड इन्टरनेट सेवा भित्र्याएको टेकमाइण्ड्स नेटवर्क प्रा.लि.ले माडी-७ देवेन्द्रपुरस्थित शनि धामलाई फ्रि वाईफाई जोन बनाउने भएको छ ।
फ्रि वाईफाई जोन स्थापना भएपछि धाममा दर्शन तथा घुमफिरका लागि आउने भक्तजनहरूलाई लाइभ प्रसारण, टिकटक, रिल्स तथा विभिन्न अनलाइन सेवाहरू प्रयोग गर्न सहज हुने शनि धामका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो । यस पहलका लागि उहाँले टेकमाइण्ड्स नेटवर्कप्रति धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

धार्मिक तथा पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको शनि धाम (शनि मन्दिर परिसर) मा पछिल्लो समय दर्शनार्थीहरूको आगमन बढ्दै गएको सन्दर्भमा कम्पनीका तर्फबाट फ्रि वाईफाई जोन बनाउने निर्णय गरिएको टेकमाइण्ड्स नेटवर्कका माडी संयोजक सुदर्शन चापागाईंले जानकारी दिनुभयो ।


विगतमा ताररहित (वायरलेस) प्रणालीमार्फत सञ्चालन हुँदै आएको सो इन्टरनेट सेवा प्रदायक संस्था हालै अप्टिकल फाइबर प्रणालीमा जोडिएको छ । यससँगै माडी क्षेत्रका प्रयोगकर्ताहरूबीच इन्टरनेटको गतिमा उल्लेख्य सुधार आएको र इन्टरनेटसँगै आईपीटीभी (टेलिभिजन) सेवा समेत प्रदान गर्न थालिएको चापागाईंले बताउनुभयो ।

