चितवन खबर पोष्ट

माडी भैरवपुर निवासी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपाल सरकारको परराष्ट्रमन्त्री नियुक्त

११ पाैष, माडी । नेपाली सेनाका पूर्वरथी रहिसक्नुभएका माडी–२, भैरवपुरनिवासी बालानन्द शर्मा (न्यौपाने) नेपाल सरकारको परराष्ट्रमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालयले शर्मालाई शुक्रबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएको हो ।

यसअघि, परराष्ट्र मन्त्रालय हालसम्म प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्दै आउनुभएको थियो । शर्माको विज्ञता र अनुभवलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको हो ।

पूर्वरथी शर्माको परिवार २०२१ सालमा पोखराबाट बसाइँ सरी चितवन माडी आएको थियो । शर्माले २०२४ सालमा बघौंडा प्राथमिक विद्यालय (हालको माडी माध्यमिक विद्यालय)मा शिक्षणसमेत गर्नुभएको थियो ।

हाल ललितपुरको थसिखेल (पाटन) क्षेत्रमा बसोबास गर्दै आएको शर्माको परिवारले माडी माध्यमिक विद्यालय, सोमेश्वर माध्यमिक विद्यालय लगायतका शैक्षिक संस्थाहरूमा अक्षयकोष स्थापना गरी शिक्षा क्षेत्रमा योगदान समेत पुर्‍याएको छ ।

सेना समायोजन विशेष समिति सचिवालयका संयोजक समेत रहिसक्नुभएका पूर्वरथी शर्माले कोभिड–१९ निर्देशक समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखको जिम्मेवारीसमेत सफलतापूर्वक पुरा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया