१२ पाैष, माडी । माडी नगरपालिका-४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयले आधारभूत तहको नियुक्तिमा रहेर माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ ।
विद्यालयले शनिवार ५७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका क्रममा सो शिक्षकहरुलाई सम्मान गरेको हो । त्यसैगरी एस.ई.ई. तहमा सबै विद्यार्थीलाई (सतप्रतिशत) उत्तीर्ण गराउन सफल शिक्षक जमुना लम्साल र कक्षा ८ मा शिक्षण गर्ने सबै शिक्षकहरुलाई पनि सम्मान गरिएको प्रधानाध्यापक कुलानन्द भुसालले बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमकै सन्दर्भ पारी बुद्धि श्रेष्ठ, प्रजापति न्यौपाने र एकनारायण न्यौपानेबाट कूल ६५ हजार रुपैंया बराबरका छुट्टाछुट्टै ३ वटा अक्षयकोष स्थापना पनि भएको प्रधानाध्यापक भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक सुवास कुमार तिवारीको अध्यक्षतामा सञ्चालित बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य र वडाध्यक्ष माधव चापागाईंको विशिष्ट आतिथ्य रहेको थियो ।

