११ पाैष, माडी । निकुञ्जको माडी बगहीं सेक्टरका पूर्व संयोजक तथा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नारायणदत्त (बासु) सापकोटाले मध्यवर्ती उपभोक्ता समितिहरूको निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
रिकफ्ट नेपालद्वारा माडीको बनकट्टामा सञ्चालित अन्तरक्रियामा बोल्दै सापकोटाले माडीमा देखिएका समस्या समाधानका लागि ऐन–कानुन संशोधन आवश्यक भए पनि हालको राजनीतिक अवस्थाका कारण तत्काल सम्भव नरहेकाले समितिहरू पुनर्गठन गरेर अघि बढ्नुपर्ने बिचार व्यक्त गर्नुभएको हो ।

हाल सरकार विघटन भई नयाँ सरकार गठन नभइसकेको अवस्थामा ऐन खारेज, संशोधन, पुनर्लेखन वा निर्देशिका बनाउने सदन नै नरहेकाले राहत, क्षतिपूर्ति, नदीजन्य पदार्थलगायतका काम ठप्प राखेर बस्न नहुने उहाँको भनाई थियो ।

निकुञ्ज, माडी क्षेत्र, सम्बन्धित विभाग तथा राष्ट्रिय निकुञ्ज विभाग बसेर माडीका समस्या बुँदागत रूपमा समेट्ने साझा दस्तावेजमा सहमति गरी हस्ताक्षर गरेपछि उपभोक्ता समितिहरू गठन गर्ने विषयमा सर्वदलीय तथा सर्वपक्षीय सहमति बनिसकेको उहाँको जिकिर थियो ।
“समिति गठन प्रक्रिया अगाडि बढिरहेको छ,” सापकोटाले भन्नुभयो, “सबै कुरा सहज भए एक–डेढ महिनाभित्र माडीमा चारवटा मध्यवर्ती उपभोक्ता समिति गठन हुन्छन् ।” समितिहरू गठन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले उपभोक्ता समिति नहुँदा माडीका लागि थप समस्या बनिरहेको टिप्पणी गर्नुभयो ।

