१८ पाैष, माडी । माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अब समुदायमा रहेका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला एवं बालबालिकालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिने भएका छन्।
शुक्रबार बिहान सम्पन्न नगर कार्यपालिकाको ६२औँ बैठकले ‘घरदैलो स्वास्थ्य सेवा कार्यविधि २०८२’ पारित गर्दै स्वास्थ्य संस्थाको पहुँचमा नभएका वा असहज भएका लक्षित वर्गलाई घरमै स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था सुनिश्चित गरेको हो।

नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलका अनुसार कार्यविधि लागू भएसँगै वडास्तरमा स्थापित स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मीहरूले हरेक दुई महिनामा एकपटक वडाभित्रका बृद्धबृद्धा, महिला, बालबालिका र दीर्घरोगीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। यसबाट स्वास्थ्य सेवामा पहुँच कम भएका समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।

यसैबीच, सोही बैठकले ‘माडी नगरपालिका स्वास्थ्य संस्था दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि २०८२’ पनि पारित गरेको छ। कार्यविधि अनुसार अब नगर क्षेत्रभित्र सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकजस्ता स्वास्थ्य संस्था नगरपालिकामा अनिवार्य दर्ता भएर मात्र सञ्चालन गर्नुपर्नेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले कार्यविधि पारित भएसँगै निजी र सामुदायिक क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाको नियमित अनुगमन गरिने र यसले सेवाको गुणस्तर तथा जिम्मेवारीपनमा सुधार आउने बताउनुभयो। नगरपालिकाले यी कार्यविधिहरू कार्यान्वयनमा ल्याएर स्वास्थ्य सेवालाई नागरिकमैत्री, पहुँचयोग्य र गुणस्तरीय बनाउने लक्ष्य लिएको उहाँले जनाउनुभयो ।

