स्वदेशपोष्ट विशेष

मौरीपालन व्यवसायबाट माडीका दामोदर देवकोटालाई मनग्य आय, मह काढ्न भ्याई-नभ्याई (भिडियो सहित)

१९ पाैष, माडी । मौरीपालन व्यवसाय सञ्चालन गरी माडीमै नमूना मौरीपालक कृषकका रूपमा परिचित बन्नुभएका दामोदर देवकोटा यतिबेला मह काढ्न भ्याई-नभ्याई व्यस्त हुनुहुन्छ ।

भरतपुर-११, चितवनका स्थायी बासिन्दा समेत रहनुभएका देवकोटाले माडी नगरपालिका-६ स्याउलीबासमा मिराकल गार्डेन स्थापना गरी व्यवसायिक मौरीपालन गर्दै आउनुभएको छ ।

कृषक देवकोटाले महसँगै मौरीका तयारी घारसमेत बिक्री गर्नुहुन्छ । सुरुमा १० घारबाट मौरीपालन आरम्भ गर्नुभएका उहाँसँग हाल करिब १३५ भन्दा धेरै घार मौरी रहेका छन् । एक घारबाट वार्षिक २५ देखि ३० लिटरसम्म मह उत्पादन हुने र प्रतिलिटर ७ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने उहाँले जानकारी दिनुभयो ।

‘मिराकल मह’ चितवनसहित काठमाडौं र पोखरा लगायतका शहरहरूमा बिक्री हुँदै आएको छ । महसँगै उहाँको कम्पनीले अचार तथा अन्य खाद्य सामग्रीको उत्पादनसमेत गर्दै आएको छ ।

माडी क्षेत्र जंगलले घेरिएको स्वच्छ पर्यावरणीय क्षेत्र भएकाले मौरीपालनका लागि अत्यन्तै उपयुक्त रहेको देवकोटाको भनाइ छ । मौरीपालन व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउँदै उहाँले माडीका किसानलाई यो व्यवसाय नछाड्न र निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।

जाडो याममा मह घ्युजस्तै जम्नु प्राकृतिक भएको र त्यसरी जमेको मह खानु स्वास्थ्यका दृष्टिले राम्रो रहेको उहाँले जानकारी दिनुभयो । माडी नगरपालिकाले मह प्रवर्द्धनका निम्ति हालसम्म गरेको लगानीको प्रतिफल खोज्नुपर्ने र अनुगमन समेत गर्नुपर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया