चितवन खबर पोष्ट

स्वास्थ्य चौकी भवन बनाउन जग्गा प्रदान गरेको दोभान रेशम कृषक समूह सम्मानित (भिडियो सहित)

२२ पाैष, माडी । कल्याणपुर स्वास्थ्य चौकी भवन निर्माणका लागि ४ कठ्ठा १९ धुर जग्गा प्रदान गरेको दोभान रेशम विकास कृषक समूह, माडी-६, स्याउलीबासलाई कदरपत्र सहित सम्मान गरिएको छ । करीब ९२ लाख रुपैंया मुल्यको जमीन अस्पताल भवन निर्माण गर्ने सर्तमा समूहले माडी नगरपालिकालाई नि:शुल्क हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य चौकी भवनको समुद्घाटन कार्यक्रमका सन्दर्भमा जग्गादाता समूहका सदस्यहरुलाई सामुहिक रुपमा कदरपत्र र दोसल्ला सहित बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर र माडी नगरप्रमुख ताराकुमारी काजी महतो लगायतले सम्मान गर्नुभएको हो ।

सम्मान पश्चात बोल्दै समूहका अध्यक्ष प्रेम बिष्टले ‘आफूहरुले प्रदान गरेको जमीनमा स्वास्थ्य चौकी बनेकोमा खुसी’ व्यक्त गर्नुभयो । “२०७७ सालको नगरपालिकाको मूल्याङ्कन अनुसार नै यो जग्गाको मूल्य ९२ लाखभन्दा बढी थियो। हामीले निकै ठूलो मन बनाएर यो निर्णय लिएका थियौं। आज हामीलाई कुनै पछुतो छैन, बरु हामी धेरै खुसी छौं। यस क्षेत्रका जनता, विशेषगरी पिछडिएका वर्गले आधारभूत स्वास्थ्य सेवा पाइरहेका छन्”, उहाँको भनाइ थियो ।

‘अस्पताल भवनमा जग्गादाताका रुपमा समूहको नाम लेखिदिन’ उहाँको अनुरोध थियो । साथै समूहको नाउँमा अझै १ कठ्ठा १ धुर जमीन रहेकोमा त्यहा जानकारी दिँदै अध्यक्ष बिष्टले ‘त्यहाँ एकवटा समूह घर निर्माणमा सघाउन’ पनि अनुरोध गर्नुभयो । (सम्मान र मन्तव्यको संक्षेप भिडियो)

तपाईको प्रतिक्रिया