चितवन खबर पोष्ट

माडी नगरपालिकाको नगरसभा रोकियो, नगरसभा स्थगित प्रति मेयर महतोद्वारा दुःख व्यक्त (भिडियो सहित)

माडी नगरपालिकाको हिउँदे नगरसभा स्थगित भएको छ । नगर कार्यपालिकाको कार्यालय माडीले जारी गरेको सूचनाअनुसार पौष २५ गते (भोलि) बिहान ११ बजे बस्ने तय गरिएको नगरसभा विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

नगरसभाको कार्यसूचि २४ घण्टाअघि प्रकाशित गर्नुपर्ने तथा नगर कार्यपालिकाको बैठकले एजेण्डाहरु पारित गर्नुपर्ने व्यवस्था रहेकोमा बिहीबारको बैठक स्थगित भएसंगै नगरसभा स्थगित हुने अवस्था सिर्जना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो ।

यसैबिच, माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतोले सहमतिका प्रयास हुँदाहुँदै पनि कार्यपालिका बैठक र हिउँदे नगरसभा स्थगित भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। स्वदेश एफ.एम.को कार्यक्रम समय सन्दर्भमा बिहीबार साँझ बोल्दै नगरप्रमुख महतोले हनुमानझुलामा विध्युत विस्तारको काम बजेट अभावका कारण नभई कानुनी अड्चनका कारण रोकिएको स्पष्ट पार्नुभयो। सो विषयमा कार्यपालिका बैठक अवरुद्ध हुनुलाई उहाँले वडाध्यक्षहरूको ‘फण्डा’को संज्ञा दिँदै सबैलाई सहमतिमा आउन आग्रह गर्नुभयो।

बिहान ८ बजे सुरु भएको कार्यपालिका बैठकमा वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम दवाडीले हनुमानझुलामा विध्युत बत्ती जडानका लागि बजेट सुनिश्चित गर्नुपर्ने माग गर्दै बैठक बहिष्कार गर्नुभएको थियो। त्यसपछि उहाँ सम्बद्ध नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अन्य वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू पनि बैठकबाट बाहिरिएपछि बैठक स्थगित हुन पुगेको हो।

कार्यक्रममा नगरप्रमुख महतोले “मेयर–उपमेयरले चाहे ३० लाख रुपैयाँ बजेट निकाल्न सक्छन्” भन्ने एक वडाध्यक्षको अभिव्यक्तिलाई पनि गैरजिम्मेवार र भ्रामक भन्दै आपत्ति जनाउनुभयो। बजेट तथा विकासका कार्यक्रमहरू नीति, विधि र कानुनअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सबै जनप्रतिनिधिहरूलाई सहकार्य र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया