२५ पाैष, माडी । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले ‘वनलाई केवल संरक्षणको दृष्टिले मात्र नभई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने’मा जोड दिनुभएको छ ।
रिकफ्ट नेपाल संस्थाको आयोजनामा चितवन सौराहामा सम्पन्न बरन्डाभार बन संरक्षण क्षेत्र परिषद संरचनाको नीतिगत संवाद कार्यक्रममा बोल्दै प्रदेश मन्त्री के.सी.ले ‘वन भन्नासाथ रुख काट्ने र काठ बेच्ने सोचमा सीमित हुनु नहुने’ बताउनुभयो । उहाँले ‘वनभित्र रहेका जडीबुटी, पर्या-पर्यटन तथा अन्य प्राकृतिक स्रोतहरूको उच्चतम उपयोगमार्फत स्थानीय जनताको आर्थिक जीवनस्तर उकास्नुपर्ने’ आवश्यकता औंल्याउनुभयो ।

‘मन्त्रालयको तर्फबाट संरक्षणलाई असर नपारी स्थानीयको आयआर्जन बढाउने खालका कार्यक्रमहरू ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको’ मन्त्री के.सी.ले बताउनुभयो । ‘सफारी, हाइकिङ र ट्रेकिङजस्ता गतिविधिहरूलाई व्यवस्थित र दिगो बनाउनु आवश्यक रहेको’मा उहाँको जोड थियो ।

मन्त्री के.सी.ले चितवनको सन्दर्भ उल्लेख गर्दै ‘यहाँका राष्ट्रिय निकुञ्ज र वन क्षेत्रकै कारण ठूलो संख्यामा पर्यटक भित्रिने गरेको’ बताउनुभयो । कार्यक्रममा परियोजना निर्देशक प्रदीप बुढाथोकी लगायत बरण्डाभार क्षेत्रका परिषद् तथा मध्यवर्ती उपभोक्ता समिति, वन समूह र जिल्ला वन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

