२५ पाैष, माडी । माडीमा मोतियाबिन्दु रोगको पहिचान भएका १३८ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया भएको छ । बिहीबार ७२ जनाको शल्यक्रिया गरिएकोमा शुक्रबार थप ६६ जनाको शल्यक्रिया भएको हो ।
भरतपूर आँखा अस्पताल, माडी नगरपालिका, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर. र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा लायन्स माडी मेगा सर्जिकल आँखा शिविर अन्तरगत आँखामा मोतियाबिन्दु लागेका २०७ जनाको पहिचान भएको थियो ।

मोतियाबिन्दुको शल्यक्रिया पश्चात आँखाको पट्टी खोलेर राम्ररी आँखा देख्न पाउँदा बिरामीहरुले खुसी व्यक्त गर्दै आयोजक संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिए । बिरामीहरुलाई नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. पुष्पा गिरीले शल्यक्रिया गर्नुभएको थियो ।

शल्यक्रिया भएका बिरामीहरुको आँखाको पट्टी खोलेसंगै निःशुल्क चस्मा वितरण समेत गरिएको माडी आँखा उपचार केन्द्र सहयोग समितिका अध्यक्ष श्रीप्रसाद दवाडीले बताउनुभयो । अन्य बिरामीहरुमा सुगर, प्रेसर र अन्य जटिलता देखिएकाले भरतपुर आँखा अस्पताल रेफर गरिएको छ । गतबर्ष सोही मोडेलको शिविरमा १३१ जनाको निःशुल्क शल्यक्रिया भएको थियो ।
यसैबिच, पौष २० गते माडी–९, कृष्णनगरबाट सुरुवात भई पौष २६ गते बिहान समापन भएको छ । सोमबार माडी–६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलले शिविरमा सहभागी नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. पुष्पा गिरी र एम.डि. रेजिडेन्ट डा. आशिष निधी लगायत १५ जना स्वास्थ्यकर्मीको टोलीलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम समापन गर्नुभएको हो ।

