०७ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशभर मनोनयन दर्ताको रौनक चलिरहेका बेला आफू त्यस उत्साहमा पूर्ण रूपमा मिसिन नसकेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । एकै दिन पर्सा, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दाको सुनुवाइ परेकाले चितवन-२ मा मनोनयन दर्ताका क्रममा प्रत्यक्ष उपस्थित हुन उहाँ सक्नुभएन ।
यसपटक चितवन–२ मा लामिछानेविरुद्ध एमालेका अस्मिन घिमिरे, कांग्रेसकी मीनकुमारी खरेल र नेकपाका प्रताप गुरुङ उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको तीन वर्षको अवधिमै उहाँ तेस्रो पटक उम्मेदवार बन्नुभएको हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट ४९ हजार ३०० मत ल्याएर विजयी हुनुभएका लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने पनि दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि पदमुक्त हुनुभएको थियो ।

त्यसपछि २०८० वैशाख १० गतेको उपनिर्वाचनमा पुनः उम्मेदवार बन्नुभएका उहाँले ५४ हजार १७६ मतसहित भारी मतान्तरले जित हासिल गर्नुभयो । तर २०८१ साल असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उहाँ प्रचण्डसंगै सरकारबाट बाहिरिनुभयो ।
ओली नेतृत्वको सरकारले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेपछि उहाँले सांसद पद गुमाउनुपर्यो । काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा उहाँका मुद्दा विचाराधीन छन् । यी मुद्दाका कारण उहाँ आठ महिना जेलसमेत बस्नुपरेकोमा पछि धरौटीमा रिहा हुनुभएको हो ।
रिहाइपछि उनले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग सात बुँदे सहमति गर्दै पुनः सक्रिय राजनीति थाल्नुभयो । आगामी निर्वाचनमा रास्वपाको बहुमतको सरकार बनाउने उद्घोष गरे पनि कानुनी जोखिम भने यथावत् रहेको विश्लेषण गरिएको छ ।

