चितवन खबर पोष्ट

सुकुम्बासी अधिकार माग्दै भोलि देशभर चक्का जाम र माइतीघर प्रदर्शन

३० बैशाख, माडी । अखिल नेपाल सुकुम्बासी संघले वैशाख ३१ गते (भोलि) बिहान ५ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गमा ५ घण्टे चक्का जाम गर्ने घोषणा गरेको छ । बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा संघले सुकुम्बासीको अधिकारका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघका इन्चार्ज नहेन्द्र खड्काले चक्का जामले देशभरका सुकुम्बासीको एकता र अधिकारको सन्देश दिने बताउनुभयो । उहाँले सरकारी डोजर अभियानका कारण धेरै नागरिक विस्थापित भएको आरोप लगाउनुभयो । अध्यक्ष अमर परियार ले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा नभई स्थायी रूपमा जमिन व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो ।

नेपाल सुकुम्बासी तथा अव्यवस्थित बसोवासी संघका अध्यक्ष राजकुमार पाण्डे तथा संयुक्त सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुवरले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ । संघले भोलि माइतीघर मण्डलामा संयुक्त प्रदर्शनसमेत गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया