२९ बैशाख, माडी । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)मा माडीकै प्रथम र दोश्रो स्थान हासिल गरी उत्कृष्ट नतीजा देखाउन सफल भएको सोमेश्वर माध्यमिक विद्यालय बरुवा समग्र नतीजामा भने अन्तिम स्थानमा रहेको छ ।
परीक्षामा ३.९५ जिपिए ल्याउँदै सोमेश्वर माध्यमिक विद्यालयकै छात्र प्रसिस ढकाल माडी नगरस्तरमा प्रथम हुनुभएको छ भने ३.९५ जिपिए ल्याउँदै अन्य २ विद्यालयका २ विद्यार्थीसहित सोही विद्यालयका छात्र हिमाल दवाडीले दोश्रो स्थानको उत्कृष्ट नतीजा हासिल गर्नुभएको छ ।
तर समग्र नतीजामा भने सो विद्यालयले माडीका अन्य सबै विद्यालयहरुभन्दा पुछारमा रहँदै २५ प्रतिशतमात्रै नतिजा ल्याएको छ । विद्यालयका ६४ जना परीक्षार्थीहरूमध्ये १६ जना मात्र उत्तीर्ण भएका छन् । सोमध्ये ३ जनाले ए प्लस, २ जनाले ए, ६ जनाले बी प्लस र ५ जनाले बी ग्रेड ल्याएका छन् भने ४८ जना ननग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।




