२९ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुललाई मुसा वा दुम्सीले टोक्दा माडी क्षेत्रमा चित्रवन युनिक नेटको इन्टरनेट सेवा करीब १८ घण्टा अवरुद्ध रह्यो ।
जमीनमुनी ४.५ फिट गहिराईमा मुसा वा दुम्सीले फाइबर तार टोकेर छिनाएको थियो । यसका कारण सोमबार राती करीब ९ देखि मंगलबार साँझ करीब ५ बजेसम्म सो कम्पनीको (एफ.टि.टि.एच.) इन्टरनेट र (आई.पि.) टि.भी. सेवा अवरुद्ध हुन पुगेको थियो ।
त्यसपछि निकुञ्जभित्र आवश्यक अनुमती लिएर कम्पनीका प्राविधिकहरुले जेसिबीको प्रयोग गरी भूमिगत फाइबर बिग्रिएको क्षेत्रमा खनेर केबल मर्मत गरी अप्टिकल फाइबर जोडेका थिए । यसअघि, सोही स्थानमा नेपाल टेलिकमको फाइबरमा समेत सोही प्रकृतिबाट मुसा वा दुम्सीले टोकेर क्षती गरेको थियो ।

निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुल बिग्रिएर बिजुली अवरुद्ध हुनेगरेको अवस्थासंग अभ्यस्त रहेका माडीबासीहरुले अब निकुञ्जभित्र भूमिगत फाइबर टोकिएर इन्टरनेट पनि अवरुद्ध हुने नयाँ परिस्थिति व्यहोर्न सुरु गरेका छन् ।



